काठमाडौं: नेपाल प्रहरीका आठ नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी महानिरीक्षकले उनीहरूलाई फूली लगाइदिएका हुन्।
अब केही दिनमै उनीहरूको पदस्थापन गर्दै जिम्मेवारी पनि प्रदान गरिने प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार केही दिनमै उनीहरुले जिम्मेवारी पाउने छन्।
यस्तै स्रोतका अनुसार केही प्रदेशका डीआईजीको सरुवा पनि नयाँ डीआईजीको पदस्थापनसँगै गरिने भएको छ। बिशेष ब्युरो, कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीहरुको सरुवा गर्ने तयारी छ।
यस अगाडि आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई पनि पदस्थापन गरिने छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा डीआईजीको पद खाली छ। उपत्यका ट्राफिक पनि एक महिनापछि रिक्त हुनेछ।
हाल कोशी प्रदेशमा चन्द्र कुबेर खापुङ, सुदूरपश्चिममा रविन्द्र केसी, लुम्बिनीका कुबेर कडायत डीआईजी छन्।
र, यो पनि: नयाँ ८ डीआईजीलाई फूली लगाएर दिइयो निर्देशन