धनगढी: नेकपा एमालेबाट निष्कासनपछि पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा नयाँ राजनीतिक अभियानको सुरुवात गरेका छन्। धनगढी विमानस्थलमा आज बिहान पुगेका रावललाई उनका समर्थकहरूले भव्य स्वागत गरेका छन्। उनले “मातृभूमि जागरण अभियान” घोषणा गर्दै राष्ट्रप्रति माया गर्ने सबैलाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
समर्थकहरूले राष्ट्रिय झण्डासहित “डा. भीम रावल जिन्दावाद” र “मातृभूमि अभियान जिन्दावाद” जस्ता नाराबाजी गरेका थिए। रावलले छोटो सम्बोधन गर्दै आफ्नो अभियान व्यक्तिगत नभई सामाजिक रूपान्तरणका लागि रहेको बताए।
उनको आगमनसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक बहस सुरु भएको छ। लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहेका रावल यस पटक पुराना राजनीतिक चिन्ह र विचारबाट टाढा रहेको संकेत गर्दै नयाँ सोच र शैलीसहित प्रस्तुत भएका छन्।
उता धनगढीमा संयोगवश रावलसँग एउटै जहाजमा आएका एमाले नेता कर्ण थापाले यो यात्रा केवल संयोग मात्र भएको बताएका छन्। उनले आफ्नो र रावलको राजनीतिक मार्ग फरक रहेको स्पष्ट गर्दै भ्रम नफैलाउन अपिल गरेका छन्।
भीम रावलले धनगढीबाट आफ्नो गृह जिल्ला अछाम प्रस्थान गरेका छन्। भोलि रामारोशन गाउँपालिकामा हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। रावलको अभियानले सुदूरपश्चिमको राजनीतिक वातावरणमा नयाँ ऊर्जा थपेको छ भने उनका समर्थकहरूले यो अभियानलाई ठूलो परिवर्तनको सुरुवातका रूपमा हेरेका छन्।
एमालेको दशौं महाधिवेशनपछि छेउमा पुर्याइएका नेता रावल पार्टीको कारबाहीपछि पहिलो पटक गृहप्रदेश सुदूरपश्चिम टेकेका हुन्।
उनको स्वागतमा कुनै कम्युनिष्ट शैली र शब्दको नाराबाजी थिएन। समर्थकहरुलाई छोटो सम्बोधन गरेका रावलले कतै पनि ‘कमरेड’ शब्द प्रयोग गरेनन्।
जसक्रममा रावल शुक्रबार धनगढी विमानस्थलमा पुग्दा भेला भएका कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।