धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई अपमानित गरिएको बताएका छन्। धनगढी उपमहानगरलाई डुबानबाट जोगाउनका लागि नाली निर्माण योजनाको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो पोखेका हुन्।
मेयर हमालले कार्यक्रममा कुनै जानकारी नदिइएको उल्लेख गर्दै भने, “मलाई शिलान्यास भइरहेको जानकारी जनताबाट मात्र थाहा भयो। पुस १७ गते उपमहानगरपालिकालाई एउटा पत्र पठाइएको रहेछ। त्यहाँ सहजीकरणको आग्रह गरिएको थियो, जुन इन्जिनियरहरूले गरेका होलान्। तर, मलाई कार्यक्रमबारे कुनै जानकारी थिएन। त्यसैले म वडा नम्बर ४ को बासिन्दाका रूपमा मात्र यहाँ आएको हुँ।”
उनले धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझा र वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरको आग्रहमा मात्र कार्यक्रममा सहभागी भएको बताए।
बुधबार मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भिस लेनमा नाली निर्माण योजनाको शिलान्यास गरिएको थियो। उक्त शिलान्यास सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले गरेका हुन्।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार नाली निर्माणका लागि दुई प्याकेजमा सम्झौता भएको छ, जसमा कुल लागत साढे १३ करोड रहेको छ।
कार्यक्रममा मेयरको गुनासोले उपमहानगरका गतिविधि र सहकार्यमा सुधार आवश्यक रहेको संकेत गरेको छ।