अछाम: नेकपा एमाले अछामले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा ६ जना नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।
बुधबार जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहसहित अन्य पाँच नेताहरूलाई निष्कासन गरिएको जानकारी दिइएको छ।
पार्टीबाट निष्कासित हुनेहरूमा प्रकाश शाह, सागर सिंह बाव्ली, बल बहादुर कुँवर, शंकर भुल, रतन बहादुर रावल, र साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवर रहेका छन्। उनीहरूलाई डा. भीम रावलको पक्षमा सक्रिय भूमिका खेलेको र पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “उनीहरूले पार्टी विरोधी गतिविधिमा संलग्न हुँदै मातृभूमि अभियानमा सहभागी भएका कारण पार्टीको अनुशासन विपरीत कार्य गरेका छन्। त्यसैले पार्टीको नियमअनुसार उनीहरूलाई निष्कासन गरिएको हो।”
पूर्वउपाध्यक्ष डा. भीम रावलले अछाममा मातृभूमि अभियान सञ्चालन गर्दै आएका छन्। अभियानको क्रममा उनले वर्तमान पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ धारको पक्षमा सक्रिय रहेका छन्।
यो निर्णयपछि अछामको राजनीतिक वातावरण थप तातेको छ। निष्कासित नेताहरूले भने आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। रावल पनि केही समय अगाडि पार्टी निकालामा परेका थिए। त्यसपछि उनी अभियानमा जुटेका हुन्।