धनगढी: हिजो (शनिबार) सुदूरपश्चिममा पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल चेकिङमा परे। रावल धनगढी आउँदै शनिबार कञ्चनपुरको दैजी चोकमा सरकारी सवारी दुरुपयोग भएको भन्दै चेकिङमा परेका थिए।
त्यो चेकिङ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गरिरहेका थिए। उनीहरूले रावलबाहेकको पनि गाडी नियन्त्रणमा लिएका थिए। त्यसपछि सो प्रकरणले एकाएक माहोल ततायो। रावलले आफ्ना पीए राज चन्दमार्फत घटनाबारे सार्वजनिक विज्ञप्ति नै निकाल्न लगाए।
सो विज्ञप्तिमा रावलमाथि रास्वपा कार्यकर्ताद्वारा प्रहरीकै सामुन्ने दुर्व्यवहार भएको दाबी गरियो। त्यति दाबी मात्र भएन गाडी रोक्ने एक जनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर समेत छाडेको थियो।
तथापि रावलका पीए चन्दले घटनाका क्रममा सुरक्षाको जिम्मेवारीमा रहेको नेपाल प्रहरी मूकदर्शक बनेको पनि आरोप लगाए।
उसो त बिदाको सरकारी सवारी दुरुपयोग भएको भन्दै चेकिङ पर्दा सो विषय सतहमा आएको थियो। त्यसमा रावलले प्रदेश सभा सचिवालयबाट अनुमति लिएर सरकारी काममा गएको दाबी गरेका छन्।
यद्यपि सुदूरपश्चिममा पूर्व मुख्यमन्त्री तथा दलको नेताहरूलाई गाडी सुविधा दिने कानुनी व्यवस्था नै छैन। तर रावलले सरकारका आफ्ना पार्टीका मन्त्रीको निर्देशनमा गाडी दुरुपयोग गरिरहेका हुन्।
रावललाई सवारी सुबिधा नभएकोमा उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी, चालक र इन्धनसहितको सुविधा लिइरहेका छन्। उनले मन्त्रालयको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३१८ नम्बरको सरकारी गाडी प्रयोग गर्दछ्न्।
रावलले मन्त्रालयको गाडी पुस अन्तिम साता डोटी लगेपछि फिर्ता नै नगरी चढिरहेका हुन्। नेकपा एमालेबाट सुदूरपश्चिममा कानुन मन्त्री हिरा सार्की छन्। उनलाई रावलको कठपुतली बनेको आरोप लाग्दै आएको छ।
र, यो पनि: पूर्व मुख्यमन्त्री रावलमाथि दुर्व्यवहार भएको दाबी, पीएद्वारा घोर भत्र्सना