धनगढी: सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन प्रक्रिया पुनः अनिश्चितकालका लागि स्थगित भएको छ। माघ १३ मा प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भए पनि आज सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ।
प्रदेशसभा सूचना अधिकारी युवराज जैशीका अनुसार सभामुखको निर्देशनअनुसार निर्वाचन प्रक्रिया रोकिएको हो। यसअघि माघ १७ मा उम्मेदवारी दर्ता र माघ १८ मा समितिको बैठकमार्फत सभापति चयन गर्ने तालिका बनाइएको थियो। तर, सो प्रक्रिया कार्यान्वयनमा आउन सकेन।
प्रदेशसभाका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति, र विशेषाधिकार समितिका सभापति पद रिक्त रहेका छन्। यी पदहरूमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच भागबण्डा हुने सहमति भएको थियो।
यसअघि पुस ११ मा नेपाली कांग्रेस, एमाले, र नागरिक उन्मुक्ति पार्टीबीच समितिका सभापतिहरूका लागि भागबण्डा मिलाइएको थियो। सो सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, एमालेले सामाजिक विकास समिति, माओवादी केन्द्रले सार्वजनिक लेखा समिति, र नेपाली कांग्रेसले विशेषाधिकार समितिको सभापति पाउने भनिएको थियो।
तर, निर्वाचन प्रक्रिया स्थगित भएपछि भागबण्डामा फेरि विवाद उत्पन्न भएको नेताहरू बताउँछन्। विगतदेखि नै दलहरूबीच सहमति नजुट्दा विषयगत समितिका सभापति चयन प्रक्रिया पटक–पटक स्थगित हुँदै आएको छ।
यो स्थगनले प्रदेशसभाको कामकारवाहीमा थप प्रभाव पर्ने देखिएको छ।