बैतडी: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेशमा हुने योजनाको खरिदबिक्री बन्द गरिएको बताएका छन्।
मंगलबार बैतडीको पाटन नगरपालिका-२ मा रहेको सिद्धनाथ मावि सिलंगाको ७६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मन्त्री पालले प्रदेश सरकारमा आएपछि योजनामा हुने दलाली र कमिसन प्रथालाई रोकिएको दाबी गरे।
उनले भने, “हिजो प्रदेशमा योजना किनबेच हुने प्रथा थियो। हामी सरकारमा आएपछि त्यसलाई बन्द गरेका छौं। योजनाको कमिसनले प्रदेशको बदनाम भइरहेको थियो, अब जनताको आवश्यकता अनुसार योजना कार्यान्वयन हुनेछन्।”
मन्त्री पालले प्रदेश सरकारको बजेटले जनताको समस्या समाधान गर्ने योजनाहरू समावेश गरेको दाबी गरे। पुनः बजेट निर्माण गरी दलालीको अन्त्य गर्दै जनताको आवश्यकता पूरा गर्न योजना बनाइएको उनले बताए।
उनले जोड दिँदै भने, “हिजोका दिनमा योजना ल्याएको बहानामा दलालहरू गाउँ-गाउँ र टोल-टोलमा आउँथे। अब त्यस्तो हुँदैन। योजना पारदर्शी र जनमुखी हुनेछ।”
कार्यक्रममा उनले शिक्षाको विकास, भौतिक पूर्वाधार निर्माण, र जनताको जीवनस्तर सुधार्न प्रदेश सरकारले विशेष प्राथमिकता दिएको पनि उल्लेख गरे।