डडेलधुरा: पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्नो कार्यकालमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सन्तुलित रूपमा विकास आयोजना राखिएको दाबी गरेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल तथा क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै पुनले “मात्रै पहुँचवाला नेताहरूको जिल्लामा बजेट केन्द्रित गर्ने पुरानो अभ्यास तोड्न” आफूले विशेष प्रयत्न गरेको बताए।
“जो प्रभावशाली छ, त्यसको जिल्ला र क्षेत्रमा मात्र बजेट पठाउने परिपाटी तोड्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर मैले बजेट निर्माण गरेको थिएँ,” पुनले भने।
खेलकुद पूर्वाधारलाई प्राथमिकता
पुनले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै मुलुकको अन्तर्राष्ट्रिय साख र गौरव बढाउन मद्दत गर्ने बताए। उनले क्रिकेट र फुटबलका नेपाली राष्ट्रिय टोलीमा सुदूरपश्चिमका खेलाडीहरूको बाहुल्यता हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै यस क्षेत्रलाई खेलकुदको उर्वरभूमि बताएका छन्।
“देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदले ठूलो भूमिका खेल्छ,” उनले भने, “एनपीएलमा सुदूरपश्चिम उपविजेतामा सीमित भए पनि उसको प्रस्तुति उत्कृष्ट थियो।”
उनले आफ्नो कार्यकालमा खेल पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै चालु आर्थिक वर्षको बजेटमा मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट विनियोजन गरिएको बताए।
खेलकुद प्रतियोगिताको भव्य उद्घाटन
पुनले आलिताल गाउँपालिकामा सुरु भएको पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल तथा क्रिकेट कप प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा उनले क्रिकेट ब्याटिङ गर्दै खेल सुरु गरेका थिए।
उक्त प्रतियोगिता फागुन २६ गतेसम्म सञ्चालन हुनेछ, जसमा पुरुष तथा महिला भलिबल प्रतियोगिता र पुरुष क्रिकेट खेल समावेश छन्। क्रिकेटमा ८ टिम, पुरुष भलिबलमा ११ टिम, र महिला भलिबलमा ७ टिम प्रतिस्पर्धामा छन्।
सांस्कृतिक विविधता र स्थानीय खेलाडीको प्रशंसा
पुनले सुदूरपश्चिमको सांस्कृतिक विविधताको प्रशंसा गर्दै मगर मारुनी नाच, झ्याउरे नृत्य लगायतका प्रस्तुतिहरू हेर्दा आफूलाई रोमाञ्चक महसुस भएको बताए। उनले “सुदूरपश्चिमको मौलिकता र जातीय सहिष्णुता अन्य क्षेत्रका लागि पनि प्रेरणादायी छ” भने।
कार्यक्रममा पूर्वमन्त्री सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट ‘सरल’, स्थानीय जनप्रतिनिधिहरू, खेलाडी, पत्रकार र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।