धनगढी: कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला कैलाली कारागारबाट फरार भएका देवसिंह ठकुरीलाई प्रहरीले भारतबाट समातेर ल्याएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। ठकुरी १२ वर्षअघि कारागारबाट फरार भएका थिए। नेपालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनले भारतमा समेत लाखौं रकम चोरीको आपराधिक गतिविधिमा संलग्न भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले आज पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ।
उनी नेपालमा ज्यान मुद्दा, अपहरण, हातहतियार तथा खरखजाना लगायतका अपराधमा संलग्न थिए। कैलालीको गोदावरी नगरपालिका ११ ओलानीका ४५ वर्षीय देवसिंह ठकुरी भनिने उनै दीपक बहादुर सिंह बैंक लुटपाट तथा सुनचाँदी पसल लुटपाट गरेको घट्नामा भारतको मुम्बईमा पनि यस अगाडि पक्राउ परेका थिए।
ज्यान मुद्दामा कैलालीस्थित धनगढी कारागारमा सजाय काटिरहेकै समयमा आँखा उपचारका बहानामा बाहिर निस्किएको बेला ठकुरी फरार भएका थिए।
त्यसपछि उनी भारत भागे। त्यहाँ गएर भारतस्थित महाराष्ट्रको सोलापुरमा बैंक तथा सुन चाँदी पसलमा लुटपाट गरेको आरोपमा ठुकरी सहित १३ जनालाई पक्राउ गरिएको थियो।
त्यसबेला ठकुरीसंगै पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरियाका ४२ वर्षीय भरत साउँद, कृष्णपुरको मालुमेलाका ३३ वर्षीय दीप बिक्रमसिंह नेगी, कैलालीको गोदावरी नगरपालिकाको अत्तरीयाका ३३ वर्षीय भीम विश्वकर्मा, गोदावरीका राज बहादुर कामी, कोलमुडाका ३५ वर्षीय, दीपक बहादुर दमाई, डोटी सिलगढीका २९ वर्षीय टीकाराम गौरव कोली, सिलगडीकै ४० वर्षीय शिवसिंह देओल रहेका थिए।
कैलालीमा भक्त बहादुर साँउदलाई गोली हानी हत्या गरेको अपराधमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका ठकुरी २०६९ साल साउन ४ गते आँखा उपचारका बहानामा कारागारबाट निस्किएका बेला फरार भएका थिए।
उनीमाथि भारतमा भन्दा नेपालमा जघन्य अपराधमा फैसला भएका घट्ना भएकोले भारतीय प्रहरीसँग समन्वय गरेर नेपाल ल्याइएको हुनसक्ने बुझिएको छ। नेपालमा उनीमाथि दुई जनाको हत्या, एक जनाको शरीर बन्धक तथा अपरहरण र एउटा हातहतियार तथा खरखजानाको मुद्दा चलेको थियो।
जसमध्ये २०६४ साल फागुन २४ गते गोदावरी नगरपालिका–५ भक्त बहादुर साँउदको हत्या गरेका ठकुरीलाई सोही मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय भएको थियो।
त्यसबाहेक उनी २०६२ साल असोज २ गते गोदावरी नगरपालिका– ६ का मान बहादुर सुनारको हत्या गरेको र २०६५ असार १० गते धनगढी उपमहानरपालिकाको फुलवारीका शोभान टमटाको अपहरण गरेको मुद्दामा मुछिएका थिए।
त्यसपछि २०६६ साल असार १० गते हातहतियार तथा खरखजानाको अपराधमा मुछिएका ठकुरी सोही मुद्दामा २०६६ साउन ५ गते पक्राउ गरेका थिए।
त्यसको तीन वर्षपछि उनीपछि कैलाली कारागारबाट भाग्न सफल भएका थिए। कैलाली कारागारबाट भागेपछि नेपाल र भारत आवात जावत गर्दै आएपनि प्रहरीले ठकुरीलाई पक्राउ गर्न सकेको थिएन।