काठमाडौं: लेबनानमा आक्रमणमा परेका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आज बिहान काठमाडौं आइपुगेका छन्। उनी बिहान ९:३० बजे दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
संयुक्त राष्ट्रसंघ (यूएन) को युनिफिल मिसन अन्तर्गत डेपुटी कमाण्डर का रूपमा कार्यरत ढकालमाथि स्वदेश फर्कने क्रममा आक्रमण भएको थियो। विमानस्थलतर्फ जाँदै गर्दा उनलाई सवार सवारीसाधनमाथि आगजनी तथा लुटपाट भएको नेपाली सेनाले जनाएको छ। सेनाका अन्य सवारीसाधनहरूले इस्कर्ट गरिरहेका बेला ढकाल चढेको गाडीलाई रोक्दै प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए।
आक्रमणमा ढकालसहित अन्य चार जना नेपाली सैनिक घाइते भएका थिए। उनीहरूको स्थानीय अस्पतालमा उपचारपछि ढकाल आज नेपाल फर्किएका हुन्।
लेबनानमा नेपाली सैनिकहरूमाथि भएको यो आक्रमणबारे विस्तृत छानबिन हुनुपर्ने सुरक्षा विश्लेषकहरू बताउँछन्। युनिफिल मिसनमा कार्यरत अन्य नेपाली सैनिकहरूको सुरक्षाबारे पनि चासो बढेको छ।