धनगढी: पटक-पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको निर्देशन कार्यान्वयन गर्ने विषयमा पहिलो पटक सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्र हिजो छलफल भयो।
गत वर्ष माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएपछि माओवादी संसदीय दल दुई पक्षमा विभाजित थियो। त्यसयता, एक पक्षले निरन्तर बैठक बहिष्कार गर्दै आएको थियो। अहिले संसदीय दलमा समर्थन बराबरी (५-५ सांसद) भएपछि नेतृत्व परिवर्तनको विषय झन् पेचिलो बनेको छ।
आइतबार धनगढीमा माओवादीका सबै सांसदहरू छलफलका लागि बसेका थिए। तर, सांसद रमेश धामी भने अनुपस्थित रहे। छलफलका क्रममा अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भए पनि संसदीय दलको नेतृत्व र प्रदेश इन्चार्ज परिवर्तनका विषयमा फरक मत देखिएको छ।
दलको नेता फेर्ने कि नफेर्ने?
खगराज भट्टलाई पुनः दलको नेता बनाउने अध्यक्ष प्रचण्डको लिखित निर्देशन कार्यान्वयन गर्नुपर्ने पक्षमा धेरै सांसद देखिए। स्रोतका अनुसार झपट साउँद, जानकी पौडेल, शिव ओली, रमेश धामी, गीता माललगायतका सांसदहरूले दलको नेता परिवर्तन गर्नुपर्ने बताए। तर, वर्तमान दलका नेता मानबहादुर धामीले आफू विधि अनुसार निर्वाचित भएकाले पहिले आफ्नो व्यवस्थापन हुनुपर्ने अडान दोहोर्याए।
धामी पक्षले संसदीय दलको नेतृत्व परिवर्तनसँगै प्रदेश इन्चार्ज पनि बदल्नुपर्ने माग राखेको छ। हाल गिरिराजमणि पोखरेल सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्, तर धामी समूहले उनलाई हटाई स्थानीय नेता इन्चार्ज बनाइनुपर्ने अडान राखेको छ।
इन्चार्ज परिवर्तनको माग
सांसद ओमविक्रम भाट ‘सरल’ ले संसदीय दलको नेता परिवर्तन गरिएमा प्रदेश इन्चार्ज पनि स्थानीय नेता हुनुपर्ने प्रस्ताव गरे। गिरिराजमणि पोखरेलले विभेदपूर्ण व्यवहार गरिरहेको भन्दै उनलाई हटाएर विना मगर, लक्ष्मण जोशी, त्रिलोचन भट्ट वा जगत पार्कीमध्ये एक जनालाई इन्चार्ज बनाइनुपर्ने माग राखिएको छ।
तर, केही सांसदले भने त्यसलाई स्वीकार गरेका छैनन्। उता खगराज भट्टले भने पार्टी अध्यक्षको निर्देशन कार्यान्वयन गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
छलफलमा संसदीय दलको विवाद मिलाउने, संसद्मा प्रमुख प्रतिपक्षको भूमिका मजबुत बनाउने र अध्यक्ष प्रचण्डको निर्देशन लागू गर्ने सैद्धान्तिक सहमति भएको छ। तर, प्रदेश इन्चार्ज परिवर्तनको विषयमा अझै सहमति जुट्न सकेको छैन।
दलको नेतृत्व परिवर्तनलाई लिएर सुदूरपश्चिम माओवादी संसदीय दलमा अझै अन्योल कायम छ।
र, यो पनि: विवादले जेलिएको विषय छलफल गर्न सुदूरपश्चिममा माओवादी दल बैठक