कैलाली– सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ ।
प्रस्तुत बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै योजनाहरु समेटिएका छन् । जसमध्ये प्रदेशकै लागि महत्वपूर्ण योजना गेटा मेडिकल कलेजलाई आर्थिक वर्ष २०७९÷८० भित्रै सञ्चालन गर्ने भनिएको छ । यद्यपि यसमा बजेट भने तोकिएको छैन । सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई समेत गेटा मेडिकल कलेजसंग जोड्ने भनिएको छ ।
यसैगरि डडेल्धुरामा मेडिकल कलेज स्थापनाको घोषणा गरिएको छ ।
सरकारले सुदूरपश्चिम प्रदेशको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । यसैगरी, कञ्चनपुरको दैजीमा औद्योगिक कोरीडोरको पूर्वाधार निर्माण र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र बनाउनका लागि बजेट विनियोजन गरेको छ ।
यसैगरी, दोधारा–चाँदनी सुख्खा बन्दरगाहको काम अगाडि बढाउने भएको छ । कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । दार्चुलाको खलंगामा खानेपानीको काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
कञ्चनपुरको भीमदत्तनगर र दोधरा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैया बिनियोजन गरेको छ । भीमदत्तनगर र दोधरा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैया बिनियोजन गरेको छ ।
धनगढी विमानस्थलको स्तरोन्नतिको सम्भाव्यता अध्ययन गरिने, टीकापुर र डडेल्धुरा विमानस्थललाई सञ्चालनमा ल्याउने बजेटमा उल्लेख गरिएको छ । यसैगरी, महाकाली सिँचाइ तेस्रो चरणको परियेजनाका लागि १ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । महाकाली सिँचाइ आयोजना अन्तर्गत ब्रह्मदेव क्षेत्रको २ हजार हेक्टरमा सिँचाइको समेत व्यवस्था गरिने बताइएको छ ।
कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
सरकारले जलाशय युक्त ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाउने भएको छ । यस्तै, कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माण र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र अगाडि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।
धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने भएको छ । मन्त्री शर्माले भाषणमा धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने बताएका हुन् । सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट बिनियोजन गरेको छ ।