काठमाडौं– काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित मेयर साहले पहिलो बैठकबाट फोहोर व्यवस्थापनका लागि पहल थालेका हुन् । आफ्नै नेतृत्वमा समिति गठन गरेका साहले उपप्रमुख सुनिता डंगोल र केही वडाध्यक्षलाई समितिमा राख्ने निर्णय गरेका छन् । उनले यसअघि नै काठमाडौंको फोहोर व्यवस्थापन नगरी जितको खुसीयाली नमनाउने बताएका थिए ।
यस्तै कार्यपालिका बैठकले सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने मेयर साहको प्रस्ताव पनि अनुमोदन गरेको छ ।
कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ। बैठकले निजी रेस्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो ।