काठमाडौं – अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरूले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् ।
शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द गर्न बाध्य भएको पाँच दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त प्रेस विज्ञप्ति नेकपा एमालेका जिल्ला कमिटी सचिव भीम रावल, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका आमन्त्रित प्रदेश सदस्य शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बम रावल, राप्रपाका जिल्ला कमिटी सदस्य दीपक विष्ट र विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीले हस्ताक्षर गरेका छन् ।
पीडित पक्षले शाहीको हत्या गरेको आरोप लगाउँदै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले पाँच जना बाहेक अरूलाई पक्राउ गरेको छैन । मेयर चलाउने पनि फरारको सूचीमा छिन् ।
शाहीको हत्यामा संलग्नलाई हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीले आनाकानी गरेको र पटक-पटक किटानी जाहेरी दर्ता गरे पनि स्थानीय प्रशासनले बेवास्ता गरेको पाँच दलको आरोप छ ।
विनोद शाहीका लागि न्याय माग्दै यसअघि स्थानीय स्तरमा आन्दोलनका कार्यक्रम भइरहेको थियो । तर अहिलेसम्म पनि दोषीलाई पक्राउ नगरेको भन्दै जिल्ला स्तरीय दबाबमूलक कार्यक्रम थालिएको सङ्घर्ष समितिले जनाएको छ ।