काठमाडौँ – नेपालको संविधानअनुसार हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ निर्वाचित सम्पूर्ण माननीय सांसद्ज्यूहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
गैरआवासीय नेपाली संघले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै विश्वका ८५ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद् गठन गरी आफ्नो सञ्जालमा विस्तार गरिसकेको छ । यस सञ्जालको माध्यमबाट संघले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्नुका साथै, नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा समेत जोड्न सफल भएको छ ।
विदेशमा बस्ने नेपाली भौतिक रुपमा मात्रै टाढा छन्, तर भावानात्मक रुपमा मातृभूमि प्रति सधै उदार, जिम्मेवार र संवेदनशील छन् भन्ने शाश्वत सत्यलाई स्थापित गर्दै संघले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै आएको छ ।
नेपालमा महाभूकम्प आएको बेला होस् वा बाढीपहिरोको कहरले आक्रान्त नेपाली जन–जनलाई मल्हम लगाउन अनि कोभिड-१९ को महामारीको विषम् परिस्थितिमाझ विदेशमा रहेका नेपालीहरुले यथाशक्य सहयोग गर्दै आएको विदितै छ ।
नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको ‘एन.आर.एन नेपाल डेभलपमेण्ट कम्पनी’ दर्ता गरी हाल आवश्यक कामहरु अगाडी बढीरहेको छ । वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’को रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ ।
संघले स्थापनाकालदेखि नै उठाउदै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको ज्ञात नै छ । संविधानको मुल मर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ । गैरआवासीय नेपालीलाई विदेशबाटै मताधिकारको व्यवस्थाका लागि संघले गरिरहेको पहलले सकारात्मक रुप लिएको छ । यस विषयमा पनि सरकारले सम्बोधन गर्ने संघको विश्वास छ ।
यसै सन्दर्भमा, अब बन्ने सरकार, प्रतिनिधि तथा प्रदेशसभाका सदस्य समेतले निम्न विषयमा सम्बोधन गर्न आवश्यक पहलकदमी र सहयोगका लागि संघ अनुरोध गर्दछ ।