प्रचण्डद्वारा नेतृत्व गरिएको मन्त्रीपरिषदमा ३३ वर्षीया एमवीवीएस डक्टर तोशिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त भएपछि धेरैले यसलाई आशालाग्दो, युवाहरुको लागि प्रेरणादायी र प्रतिभाको सम्मान भएको अर्थमा प्रशंसा गरेका छन्। वर्तमान मन्त्रीपरिषदको एउटा उल्लेखनीय नियुक्त यो पनि हो।
हुन त नेपाली राजनीतिमा डा.केआई सिंह, डा.त्रिवेणीप्रसाद प्रधान, डा.उपेन्द्र देवकोटादेखि डा.शशांक कोइराला, डा. वंशीधर मिश्र र डा. शेखर कोइरालासम्मका अनेक चिकित्सकहरु आए र गए । तर डा.तोशिमा कार्की जस्तै सानै उमेरमा राजनीतिको उपल्लो तहमा पुगेका मेधावी र प्रतिभाशाली चिकित्सकहरुको नाम लिनु पर्यो भने डा.तुल्सी गिरि र डा. नागेश्वरप्रसाद सिंहको नाम आउँछ। ती दुबै जना चिकित्सकहरु भारतको दरभंगा मेडिकल कलेजमा संगसंगै एमवीवीएस पढेका सहपाठी थिए। दुबैजना ३३ वर्षकै उमेरमा संसदमा पुगेका थिए।
डा.गिरि त २४ वर्षकै उमेरमा राणाकालीन संसद राष्ट्रसभाको सदस्य समेत भैसकेका थिए। उनी ३३ वर्षको उमेरमा परराष्ट्र उपमन्त्री, ३३ वर्षकै उमेरमा परराष्ट्रमन्त्री, ३६ वर्षको उमेरमा मन्त्रीपरिषदको उपाध्यक्ष र ३६ वर्षकै उमेरमा मन्त्रीपरिषदको अध्यक्ष भैसकेका थिए।
डा.सिंह ३४ वर्षको उमेरमा अर्थ सहायकमन्त्री र ३६ वर्षको उमेरमा स्वास्थ्यमन्त्री भैसकेका थिए।
डा.गिरि सिराहाको बस्तिपुरमा जन्मेका थिए भने डा.सिंह महोत्तरीको मनराकट्टिमा जन्मेका थिए। डा.गिरिले आफ्नो राजनीतिको कर्मथलो जनकपुरधामलाई बनाए भने डा.सिंहले राजविराजलाई बनाए।
झट्ट सुन्दा नामले जापानीजस्तै लाग्ने र झट्ट हेर्दा अनुहारले इरानी युवतीजस्तै लाग्ने डा.तोशिमा कार्कीको राजनीतिक उदयले श्री ५ महेन्द्रको पालामा राजनीतिमा चम्केका ती पुराना दुई जना तीक्ष्ण युवा चिकित्सकहरुको सम्झना आएको छ।