धनगढीः कञ्चनपुरको बेलौरीमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन्। बेलौरी नगरपालिका–८ को कलकत्ताकी बालिकाले माघ ३ गते घरमै शिशु (छोरा)
लाई जन्म दिएको खुलेको छ ।
बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने कुरा खुलेको छैन्। बेलौरीकै एक जना शिक्षक, एक बैँकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएको छ तर प्रहरीले भने भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए। बेलौरीकै अन्य तीन जनाको नाम जोडिएपनि बालिकाले अस्वीकार गरेको दाबी प्रहरीको छ।
प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन्। गत बैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ।
अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाईएको छ। प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन्। यसअघि बालिकाका आमाबुवाले समेत घटना लुकाउने प्रयास गरेको पाइएको छ।
उनीहरुले छोरीले जन्म दिएको छोरा बुहारीको देखाउन प्रयास स्वरुप बालिकालाई शिशु जन्मिएपछि पनि विद्यालय पठाएका थिए भने अन्य कामकाजमा समेत लगाएको स्थानीयले बताएका छन्।