काठमाडौं- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीको लहर चलेको जिकिर गरेका छन् । शनिबार धादिङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“एकीकृत समाजवादी पार्टीको लहर चलिरहेको छ । हिमालदेखि पहाडसम्म आशा जगाएको छ । उमंग पैदान गरेको छ । आत्मविश्वास बढाएको छ । किन बढाएको छ भने, हाम्रो पार्टी सही बाटोमा अगाडि बढ्दै छ । सही नीति लिएर अगाडि बढ्दै छ,” उनले भने ।
आफ्नो पार्टी इमानदार व्यक्तिहरूको पार्टी भएको उनले उल्लेख गरे । नयाँ पार्टी घोषणा गरेको ६ महिना मात्रै बित्दा पनि यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।
‘यो पार्टी गफाडीहरूको पार्टी होइन । यो काम गर्ने योद्धाहरूको, इमानदार व्यक्तिहरूको पार्टी हो,’ उनले भने, ‘त्यसो हुनाले जनताले हामीलाई पत्याइरहेका छन् । एउटा असल कम्युनिस्टको रूपमा हामीलाई पत्याइरहेका छन् ।’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप पनि उनले लगाए । अब एकीकृत समाजवादीको चुनाव चिह्न कलम चम्कन थालेको जिकिर उनले गरे ।
‘ओलीले दक्षिणपन्थी बाटो समातेका छन् । त्यो एमालेमा त्यो क्रान्तिकारी ओज छैन । सूर्यमा अब तेज छैन । त्यसमा ग्रहण लागिसकेको छ,’ उनले भने, ‘अब चम्केको छ कलम । कलम चम्किएर गाउँगाउँमा पुगिरहेको छ । बस्तीबस्तीमा पुगिरहेको छ ।’
उनले सत्ता गठबन्धन तोड्न षड्यन्त्र भइरहेको दाबी पनि गरे । पुरानो पार्टीमा क्रान्तिकारी धार भुत्ते भएर गएको उनको भनाइ छ ।