काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीकै नेताहरुले कम्युनिष्ट नेतृत्वको सरकार ढालेको भन्दै कटाक्ष गरेका छन् । आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले ठूलो कम्युनिष्ट पार्टीलाई फुटाएर, चोइट्याएर नेपालमा कम्युनिष्टलाई थप कमजोर पारेको बताए ।
एमालेले गरेको कामको शक्ति देखेर आत्तिए । जनताको बीचबाट एमालेलाई सम्भव भएन । त्यसपछि पार्टी फुटाउने, चोइटाउने गरे । दुई तिहाइमा पुगेका कम्युनिष्टहरुलाई ढाल्नका लागि , कम्युनिष्ट पार्टीको खोल ओढेका अन्तरे जन्तरेहरु नै लागे’, ओलीले भने ।
उनले एमालेले देशको विकास गरेर भ्याइदिने भयो भनेर ती शक्तिहरूले एमालेलाई सरकारबाट हटाएको तर्क गरे । केही शक्तिहरू एमालेले लिएको वैचारिक र जबजको क्षमता, एमालेले लिएको विकास, सुशासन, भ्रष्टाचारविरोध नीतिलाई देखेर र नेकपा एमालेले प्राप्त गरेको सफलतालाई देखेर आतंकित भए ।
एमालेलाई सरकारबाट नढाली नहुने किन भने एमालेले सबै भ्याइदिने भयो भनेर डर भयो । तिनीहरूको सटर बन्द हुने भए । त्यस कारण तिनीहरू आत्तिए’ उनले भने ‘जनताका बीचबाट संसदबाट एमालेलाई ढाल्न सम्भव थिएन त्यसकारण पार्टी चोइट्याउने पार्टी टुक्राउने दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टीलाई कम्युनिस्टकै बर्को ओडेका अन्तरे जन्तरेहरू कम्युनिस्ट पार्टी ढाल्नका लागि लागे ।‘
उनले एमाले छोडेर अर्को एकीकृत समाजवादीमा लागेकाहरूप्रति आक्रोशित व्यक्त गरे । एमालेले लगाइदिएको सांसद, मेयरको फुली फुकाल्नुपर्ने उनको धारणा छ ।
‘अन्तरे जन्तरेलाई भोट हाल्दाखेरी खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा बिर्सिएर त्यसको भत्ता खाइराखेर राजीनामा गर्नुपर्दैन कमसेकम । त्यसबाट अलग हुनुपर्दैन । नेकपा एमाले लगाइदिएको सांसद मेयरको फुली बोकेर, फिर्ता गर्नुपर्दैन विचार गर्नुहोस कति साह्रो लाज नभएकाहरू,’ उनले भने ।