धनगढीः कैलालीमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका महिला र पुरुष प्रेम सम्बन्धमा रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रेम सम्बन्धका बारेमा घरपरिवार र गाउँमा गाइँगुइँ चलेपछि लोकलाजका कारण उनीहरुले आत्महत्या गरेको खुलेको हो।
कैलारी गाउँपालिका–७ बसन्ताका ५८ वर्षीय गेदुराज दास र सोही ठाउँकी ४५ वर्षीया ललिता देवी चौधरी बुधबार एउटै रुखमा डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
खरौला सामुदायिक वनभित्र इन्जलको रुखमा उनीहरु झुण्डिएका थिए। प्रहरीका अनुसार मृतक गेदुराज र ललिता प्रेम सम्बन्धमा थिए।
बिबाहित दुवै जनाको घरमा छोरा–छोरी पनि छन्। गेदुराज र ललिताको घरको दूरी करिब एक किलोमिटरको छ।
दुवै जनाको मेलापात तथा गोठालो जाने एउटै वन थियो, खरौला सामुदायिक वन। त्यसक्रममा नजिकिएका उनीहरुबीच प्रेम सम्बन्ध झाँगिएको थियो।
‘मृतक दुवै जना प्रेम सम्बन्धमा रहेछन्, यस बारेमा घर परिवार र गाउँमा थाहाँ भएपछि लोकलाजले दुवैले आत्महत्याको बाटो रोजेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।