दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दार्चुलामा १० दल दर्ता भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १० साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो ।
आयोगले तोकेको समयमा दार्चुलामा क्रियाशील रहेका १० दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १० दलले चिन्हका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा नयाँ दल दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी,राप्रपा नेपाल,राप्रपा,संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च, मौलिक ज्वारोकिलो पार्टी,जनसमाजवादी पार्टी नेपाल,नेपाल कम्युनिष्ट पार्टी राष्ट्रबादी तथा नेपालका लागि नेपाली पार्टी गरी १० वटा पार्टीले दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय पार्टीको मान्यता पाएको चौथो. शक्तिको रुपमा रहेको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो चिन्हका लागि दल दर्ता गराएको छ ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा दार्चुलामा १२ दल निर्वाचनमा सहभागी भएका थिए ।निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचन कार्यक्रमको तयारी तिब्र बनाइएको छ । अगामी स्थानीय तहको निर्वाचनमा झण्डै ७९ हजार २३ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।