–खगेन्द्र गिरी
राजतन्त्र हुँदा विशेषत: निर्दलीय पञ्चायती व्यवस्थामा छोरा, नाती, साला, भतिजा, भाइ, बुहारी, सम्धी, सम्धिनी, जुँवाई, साढु, मित र प्रेमीप्रेमिकाहरुलाई सांसद, सभासद, मन्त्री, मेयर बनाउने चलन थिएन। त्यसो गर्न पञ्चहरु संकोच मान्थे। नैतिकताको एउटा अनौंठो बन्धन थियो राजनीतिमा।
पञ्चायतका कुनै पनि प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, राजसभा स्थायी समितिका सभापति र मन्त्रीहरुले नातावाद, कृपावाद र परिवारवादलाई मौलाउन दिएको कहिल्यै देखिएन।
तीस वर्षे पञ्चायतकालमा छ जना प्रधानमन्त्री भए । अचेल कहाँ छन्? के गर्दै छन् त उनीहरुका सन्तानहरु? सबै राजनीतिको रङ्गमञ्चभन्दा टाढा आफ्नै जीवनको अनुशासित सीमाभित्र रमाइरहेका छन्।
पञ्चायत कालीन प्रधानमन्त्रीहरु मध्ये अपवादको रुपमा सूर्यबहादुर थापाका एक्ला छोरा सुनीलबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका जेठा छोरा जयन्तबहादुर चन्द मात्रै गणतन्त्र आएपछि मात्रै सांसद र मन्त्री भएका हुन्।
पञ्चायतभन्दा बहुदलमा बाबुबाजेको नामको टेको समातेर माथि उक्लिन सजिलो हुँदो रहेछ भन्ने कुराका उदाहरण हुन् सुनील र जयन्त। पञ्चायत कालमा उनीहरुले पनि बुवाको नाम बेचेर राजनीतिमा सक्रिय भएको देखिएको थिएन।
लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन्द्र चन्द केही समय फिल्ममा सक्रिय थिए । फिल्ममा काम गरि पेट पाल्न सम्भव नदेखेपछि उनी अमेरिकातर्फ भासिए। अर्का छोरा अरुण चन्दले कैलालीमा चिनी उत्पादन गर्ने काम आरम्भ गरे तर सफल भएनन्। अर्का छोरा विनोद चन्द एनजिओमा काम गरि गुजारा गरिरहेका छन्।
पञ्चायतकालीन अर्का प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठका दुई जना छोरा सञ्जय श्रेष्ठ र रञ्जन श्रेष्ठ अमेरिका पुगेर सानोतिनो नोकरी गर्दै जीवनको गुजारा गरिरहेका छन् । जेठा छोरा अनील श्रेष्ठ भने काठमाण्डुको धापासीमा पिताले आरम्भ गरेको कुखुरा पालन व्यवसाय चलाएर जिविकोपार्जन गरिरहेका छन् तर त्यसलाई पनि राम्ररी चलाउन सकेका छैनन्।
पञ्चायतका अर्का प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका छोराहरुले राजनीतीमा कहिल्यै हात हालेनन्। बाबुबाजेले गरेको उद्यम व्यापार मैं सक्रिय रहे। उनका तीन जना छोराहरु कूलचन्द्र रिजाल, जनकप्रसाद रिजाल र देवेन्द्र रिजाल विराटनगर र काठमाडौंमा आफ्नै बाबुबाजेले खोलेको उद्यम, व्यापार र सामाजिक, आध्यात्मिक अनुष्ठानमा सक्रिय छन्। उनका अर्का छोरा राजेन्द्र रिजाल नाम चलेका गीतकार हुन् ।
पञ्चायत कालका प्रथम प्रधानमन्त्री डा.तुल्सी गिरिका जेठा छोरा अशेष गिरि इन्जिनियर पढेर क्यानाडा पुगे। त्यहाँ आफ्नै उद्यम व्यवसाय गरे। हाल बुढेशकाल आनन्दपूर्वक बिताइरहेका छन् भने कान्छा छोरा अनुराग गिरि जनकपुरधामका एक सक्रिय समाजसेवी र सफल उद्यमीको रुपमा चिनिन्छन्।
अर्का प्रधानमन्त्री कीर्तिनिधी विष्टका छोरा डा. विनोद विष्ट कुटनीतिक सेवामा लामो समय काम गरेर अवकाशपछिको जीवनलाई सामाजिक सेवा र आध्यात्मिक क्षेत्रमा समर्पित गरे। उनका अर्का छोरा शारदाप्रसाद विष्टले सधैं ओझेल परेरै जीवन बिताए।
बहुदल आएको तेत्तीस वर्ष भयो र गणतन्त्र आएको पनि १५ वर्ष हुन लाग्यो । यो कालखण्डमा राजनीति र आर्थिक सुविधाहरुमा पारिवारिक हैकम चलाउने चलन पंचायतकालभन्दा धेरै गुणा बढेको छ।
बहुदलीय लोकतन्त्रलाई पारिवारिक राजनीतिको उर्वर भूमि मानिन्छ संसारभर। निसन्तान भयो भने छुट्टै कुरा नत्र लोकतन्त्रमा नेताले आफ्नो पार्टीलाई आफ्नै प्राइभेट कम्पनी जस्तो बनाएर चलाउन खोज्दारहेछन्। समाजवादी र साम्यवादी कित्तामा यो चलन झन् बढी झाङ्गिन्छ। पञ्चायत कालका नेताहरुमा त्यस्तो देखिएन।