काठमाडौंःनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा ध्यानाकर्षण भएको जनाएका छन्। उनले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।
उनले लेखेका छन्, ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन। मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका थिए।
