अमेरिकी राष्ट्रपति जो वाइडेनको हत्या गर्न खोजेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।
बाइडेनलाई मार्ने उद्देश्यका साथ राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ को पर्खालमा ट्रक ठोक्काएको आरोपमा १९ वर्षीय साईवर्षित कान्डुला समातिएका हुन् ।
उनले सोमबार राति १० बजे बक्स ट्रक लगेर राष्ट्रपति निवासको भित्तामा ठोक्काएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनालगत्तै पक्राउ परेका कान्डूलामाथि राष्ट्रपति, उपराष्ट्रपति र उनीहरुको परिवारलाई सिध्याउन खोजेको आरोप लगाइएको छ । भारतीय सञ्चारमाध्यम एमडब्लु न्यूजका अनुसार कट्टरवादी सिद्धान्त बोकेका उनी ह्वाइट हाउसभित्र घुस्न चाहन्थे । तर, कडा सुरक्षाका कारण छिर्न सकिरहेका थिएनन् । त्यसपछि ह्वाइट हाउसभित्र छिर्न ट्रकलाई पर्खालमा ठोक्काएका हुन् ।
उक्त ठक्करबाट कोही पनि घाइते नभएको एमडब्लु न्यूजले जनाएको छ । दुर्घटनापछि उनी ट्रकबाट ओर्लिएर कालो र रातो रङ्गको झण्डा फरफराउँदै चिच्याएका थिए । त्यतिबेला राष्ट्रपति वाइडेन ह्वाइट हाउसको बगैंचामा थिए ।
राष्ट्रपति वाइडेनलाई मार्न उनी मिजौरीबाट वासिङटन डिसी आएको पनि समाचारमा उल्लेख छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कान्डुलाले छ महिनादेखि हत्याको योजना बनाएको निष्कर्ष निकालेको छ ।