काठमाडौं– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार मध्येराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।
निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन (आन्तरिक) तर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ । नयाँ मूल्य १६ सय रुपैयाँ कायम भएको हो । यसअघि १५७५ रुपैयाँमा ग्यास विक्री हुँदै आएको थियो । मूल्यवृद्धि पछि पनि निगम घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ ।