धनगढी: पछिल्लो समय भारतका विभिन्न सहरहरु लगायतका देशहरुबाट घोल गाड्ने(सुन तथा नगद चोरी गर्ने काम) गरेर नेपाल भित्रिने गरेको पाइएको छ। विषेशगरी भारतमा रोजगारी, मजदुरी गर्न गएकाहरुले ठूलो मात्रामा अवैध सुन तथा रकम चोरी गरेर नेपाल आउने गरेका छन्।
उनीहरु धनगढी, महेन्द्रनगरको नाका हुँदै नेपाल प्रवेश गर्ने गरेको बताइन्छ। यस्तै यस्ता चोरीका घटनामा नेपाल प्रहरीले समेत अनियमितता गर्ने गरेको आरोप लाग्दै आएको छ। प्रहरीका विभिन्न निकायले भारतीयको धनमाल चोरिएको प्रकरणमा रकम लिएर घटना सामसुम पार्ने गरेको आरोप लाग्दै आएको हो।
तर, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले भने त्यो कुरा गलत भएको दाबी गरेका छन्। उनले अस्ति पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै भारत तथा अन्य मुलुकबाट चोरी गरेर आएकालाई अभद्र व्यवहारमा सार्वजनिक मुद्दा चलाई कारबाही गरिदै आएको बताए।
पैसा खाएर, घुस लिएर प्रहरीले सेटिङ गर्ने काम बिल्कुल नभएको उनको जिकिर छ। यस्तै कहिँकतै त्यस्तो भेटिएमा निज प्रहरी अधिकृतमाथि कारबाही गरिने उनको भनाई छ।
उनका अनुसार यस्तो चोरी घटनामा विषेशगरि अछाम र बाजुराका स्थानीयहरु बढी संलग्न छन्।
अघिल्लो वर्षमात्रै भारतमा चोरी गरेर बाजुराको एक परिवार नेपाल छिरेको थियो। त्यसपछि भारतीयहरुले नेपालमै आएर कारबाहीको मागसहित धनमाल फिर्ताको माग गरेका थिए। तर सो घटनामा भारतीयले नेपाल प्रहरीबाट असहयोग भएको गुनासो पोखेका थिए।