–कविता जोशी
बा आज हजुरका पदचाललाई पछ्याउँदै
पाइलाहरु चाल्ने कोशिसमा छु,
सकुला नसकुला शितलता दिन ती हजुरका
गरेका त्याग सङ्घर्ष तिर्नै नसकिने अभिभाराहरु,
तर भुल्ने छैन हजुरले दिनुभएको ज्ञान ।
त्यो जिम्मेवारीले भरिएको जिन्दगीको रिन
कहिले भुल्ने छैन आफ्ना सपनालाई मारेर
छोराछोरीकै लागि गर्नुभएको बलिदान ।।
बा
मेरा बाको कहानी सरु हुन्छ मेरो जन्मसङ्गै,
जिम्मेवारीले कसिलो गरि बाँधिएको काँध
आजसम्म अलिकति नि खुकुलो भएन
तर पनि बा कहिले थाक्नुहुन्न,
आमा त दुःख लुकाउन सक्दिनन्
आँसुद्वारा व्यक्त गरिदिन्छिन्
तर मेरा बा आफ्नो कर्तव्य निभाउँदा निभाउँदा
यति कठोर हुन पुगे,
जति दुःखको पहाड आए नि
जति नै पीडा भए नि,
जति रोए पनि
कहिले कसै सामु देखिने गरी आसु नै झार्नु हुन्न
अहिले थाहा पाउँदैछुँ त्यसैले त आजसम्म
त्यो आवाजविहीन रुवाइलाई कसैले देख्दैन ।।
मैले कहिले नराम्रो लाइन नराम्रो खाइन,
तर मेरा निम्ति बाले कहिले राम्रो लाउनु खानु भएन
मेरै निम्ति आफ्ना हजारौँ सपनालाई
ज्यूँदै श्रद्धाञ्जली दिएर हजारौँ हन्डर खाँदै
जिउनु भाछ मेरा बा ।।
कुनै कमि बिना मलाई हुर्काउनुभो
मेरा हरेक इच्छा आकाङ्क्षा पूरा गरिदिनुभयो ।
मेरो भविष्य त हजुरले साटिरहनु भएछ,
तर आफ्नो त्यो पुरानो फाटेको
सटको कलरसम्म फेर्न भुल्नु भएछ ।।
बा स्कुलको त्यो झोलासम्म बोक्न नभ्याउने मेरा काँध
तपाईंले मेरो पुरै भविष्य बोकेर हिँड्नु भाथ्यो
हजुरका काँध त लाखौँ गुणा बलियो रहेछन्
देख्दै छुँ आजसम्म नि ती काँध थाकेका छैनन् ।
अहिले थाहा पाउँदै छु
संघर्षका ती ठुला फाटहरु
काँध माथि चढ्दै बनेको घोडा होइन
त्यो मैदानको युद्धमोर्चामा खटेका
जिम्मेवारीका घोडाहरुको व्यथा
यस्तै हजुरले बोक्नुभएको जिम्मेवारी
कहिले हार मान्नुहुन्न ।।
अनि बा
आज अलि बुझ्ने भाको छु,
मेरा रहर, चाहना अनि भविष्यको थुप्रो चाङ
यति भारी रहेछ भन्ने,
पक्कै नि हजुरलाई पनि त त्यति सजिलो थिएन होला
मेरा ती सपना पूरा गर्नुभएका
अनौठा आकासकै तारा झार्दिनु भन्ने सम्मका कठिन मागहरु
पक्कै भारी परे होलान् तर कहिले अस्वीकार गरेको देखिन ।।
कति थाक्छन् होला ,
कति रुन्छ होला मन तर पनि सन्तानप्रतिको माया
परिवारको अभिभारा तपाईंका त्याग र गर्नुभएको योगदान
निसान छाप बनेर छापिँदैछ बा
मेरा मन मस्तिष्कमा ।।
बा
छोराछोरी नबिग्रिउन भन्दै
बाँसको चोया काढेझै
मेरा गल्ती कमी कमजोरी केलाउँदा
त्यो अर्ति उपदेश दिदाँ साझ बिहान कति कराउनुहुन्छ भनी
दुखेसो पोख्दा,
हजुरको चित्त कति दुख्यो होला है
कति मन रोयो होला
तर पनि मनभरिका गुनासाका पोकाहरु कहिले खोलेको देखिन “बा“
अहिले बुझ्दै छु…
यो चाहियो त्यो चाहियो भन्दै
हजुरको कोटको गोजि खोतल्दा भेटेको
खुसि जस्तो त कहीँ कतै नभेटिदो रहेछ
त्यसैले त,
त्यही कोटको भित्र लुकेर बसेका
हजारौँ दुःख र वेदनाहरु पनि कहिले भेटिन बा ।।
यति धेरै त्याग र बलिदान दिएर हुर्काउनु,
पढाउनु, बढाउनुभयो अब मेरो नि बाचा बा
पक्कै ती सपना साँच्नु भाछ ती सपनाको
संसारलाई निराश बनाउँदिन,
एक दिन हजुरलाई ती भारी काँध अडेस
लगाउनसम्म भएनि थोरै सहज बनाएर
ती चर्किएका घाउमा मलहम लगाउने
आश पक्कै छ बा ।।
अनि नि,
एउटा प्रश्न बा हजुरलाई
साच्चै भन्नू त बिना आवाजको त्यो रुवाइ
आँसुविहीन पीडा लुकाई,
कुनै चिच्याहट बिनाको संर्घषको मरुभूमिमा बस्दै गर्दा
कति भारी भइरहेको छ होला ,
कति थकित हुनुहुन्छ होला ।
कसरी एक्लैले धानिरहनु भएछ ।
हँ… बा ?
आफ्ना सन्तानका निधारको पसिना पुछ्न
बाबाले आफ्नो निधारबाट बगेका रगतका
खोलालाई सम्म किन देखेनन् ।।
मेरा बा
संघर्षका बा
हामी सबैका बा ।।