काठमाडाैं : एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो । आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो ।
चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे । त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए । यस जितसँगै चीनले छ अङ्क जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।