काठमाडौँ – नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेको टेलिकमले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषदले चैत्र २४ गते गरेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन ।
नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले पदभार ग्रहण गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन् ।
सो अवसरमा निर्देशक पौडेलले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने बताएका हुन् । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण गर्दै नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने जनाएका छन् । साथै, मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने उद्देश्यसँगै कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक रहेका थिए । सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरेको जनाइएकाे छ ।