धनगढीः सुदूरपश्चिम प्रदेशभित्र नौ वटै जिल्लाहरुमा पशुहरुमा लाग्ने रोग ‘लम्पीस्किन’ भयावह बन्दै गएको छ।
प्रदेशका नौ वटा जिल्लाहरु मध्ये सबै भन्दा बढी डोटी, अछाम, र बझाङ यस रोगबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो पनि उनले बताए ।
देशभरि फैलिएको लम्पीस्किन रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित बन्न पुगेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश जोशीले बताए। अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु सङ्क्रमित भएकोमा १० हजार नौ सयभन्दा बढी पशु मरिसकेका छन्।
यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने लगायत लक्षण देखिने पशुरोग चिकित्सकहरुले बताएका छन्। यो रोग लागेपछि दूधालु गाईभैंसीको झण्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गरेको छ भने अर्कोतिर गोरु बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ। लामखुट्टे, झिँगा र किर्नाको राम्रो व्यवस्थापन गर्न सक्नु नै यो रोगको रोगथामको उपाय भएको पशु चिकित्सकको सुझाव छ।