ललितपुर: ललितपुर महानगरपालिकाका स्थानीय सडक आन्दोलनमा उत्रेका छन् । ललितपुर १२ को वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
सरकारी जग्गा मासेर व्यापारीलाई पोस्ने कार्य हुन लागेको भन्दै आज स्थानीयसहित ललितपुरका विभिन्न २१ वटा संघ–संस्थाले सडक आन्दोलन गरेका हुन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरसहितका जिम्मेवार अधिकारीहरु नै उक्त कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आईजीपी कुँवरले आफ्नो पदीय हैसियत र मर्यादा भुलेर प्रहरीको भवन भत्काउने निर्णय गर्न महानगरपालिकाको कार्यालय पुगेर हस्ताक्षर गरेका थिए । २०७९ भदौ १ गते बुधबार भएको बैठकमा लगनखेलमा रहेको १२ नं. वडा कार्यालय र सँगै रहेको महानगरीय प्रहरी प्रभाग भवन खाली गराई वडा कार्यालय सहितको मत्च्छेन्द्र कम्प्लेक्स भवन निर्माण गर्ने निर्णय भएको थियो ।
महानगरपालिकाले व्यापारी केबी महर्जनसँग मिलेर सो सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागेको छ भने वडा कार्यालय र प्रहरी कार्यालय त्यहि भवनमा राख्ने सहमति गरिएको छ । स्थानीय व्यापारी महर्जनले कम्प्लेक्स बनाउने ठेक्का समेत हात पारिसकेका छन् । वडा प्रहरी कार्यालय लगनखेल रहेको भवनको जग्गा केबी महर्जन कम्पनीले मच्छेन्द्र कम्प्लेक्स बनाउन २० देखि २५ करोड रुपैयाँमा निर्माण गर्न ठेक्का लिएका छन् ।
एउटा व्यापारीलाई पोस्नेगरी हुन लागेको यस्तो नीतिगत भ्रष्टाचारमा मेयर, आईजीपी, उपमेयर मञ्जली शाक्य बज्राचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले हस्ताक्षर गरेका छन् ।