डोटी: डोटीको सिलगढी- झिग्राना सडक कालोपत्रे गरेको एक वर्षमै भत्किएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको सडक भत्किन थालेको हो।
यो सडकको निर्माण कार्य सुदूरपश्चिम प्रदेश सरकारको ४० करोड बजेटमा सम्पन्न भएको थियो। चन्द्र एण्ड बसन्त (सिएबी) कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७९ असार मसान्तमा पूर्वाधार विकास कार्यालय डडेल्धुरालाई उक्त सडक निर्माण गरेर हस्तान्तरण गरेको थियो।
हस्तान्तरण गरेको एक वर्षमै धेरै ठाउँमा पानीले कालोपत्रे बगाएको छ भने धेरै ठाउँमा लगाइएको ग्याविन जाली पहिरोले बगाएको छ। सडक खण्डको नाली भत्किएपछि पानी सडकमै बग्दा कालोपत्रे बगेको स्थानीयले बताएका छन्।
निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरेका कारण सडक भत्किएको स्थानीय दिल बहादुर साउदको आरोप छ। बाहिर चिल्लो देखिएको सडकको गुणस्तर मापन नगरिँदा यस्तो समस्या देखिएको उनले बताए।
जिल्ला सदरमुकाम सिलगढीबाट ओखरबोट हुँदै बगलेक झिग्रानासम्म पुग्ने यो सडकको लम्बाइ १५.६ किलोमिटर छ।