धनगढी: कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका २७ वर्षीय बलराम भन्ने मातृका जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर रहेको भन्दै एक महिलालाई ठगेका छन्। मातृकाले फकाएर सुरुमा विश्वास दिलाए। त्यसपछि दुवैजना भक्तपुरको कौशलटारस्थित मातृकाको कोठामा बस्न थाले। महिला व्यवसायी थिइन्।
एक दिन मातृकाले आफूले मिटरव्याजमा पैसा लिएको र त्यो तिर्न नसके सरकारी जागिर नै अप्ठेरोमा पर्ने बताए। ती महिलाले ४० लाख रूपैयाँ पैसा पनि दिइन्। विस्तारै प्रेमी डाक्टर नभएको चाल पाएपछि महिलाले पैसा फिर्ता मागिन्। तर, मातृकाले उल्टै आफूले भनेको नमाने आत्महत्या गर्ने धम्की दिन थालेको उनको भनाइ छ।
त्यसपछि प्रेमिकाले प्रहरीमा जाहेरी दिइन्। मातृका पक्राउ परेको सूचना पाएपछि उनीबाट ठगिएका अन्य ५ जना पनि प्रहरी सम्पर्कमा पुगे। अधिकांशलाई उनले आफू डाक्टर भएको बताउँदै विभिन्न बहानामा पैसा लिएको पाइयो। उनीबाट ठगिएकामध्ये अमरबहादुर विष्ट पूर्वप्रहरी हवल्दार हुन्। पठाओ राइडरका रूपमा काम गर्दै गर्दा ग्राहक बनेर परिचय भएका मातृकाले उनीसँग पनि २५ हजार ९ सय ३० रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौं प्रहरी परिसरका अनुसार कौशलटारबाट महाराजगञ्ज जानेक्रममा मातृकाले विष्टको पठाओ बुक गरेका थिए। त्यसबेला उनले आफूलाई प्रहरी अस्पतालको इन्सपेक्टरका रुपमा चिनाएको र पछि आफूलाई पठाओ चालकका रूपमा नियमित प्रयोग गर्ने गरेको विष्टले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। मातृकाले आफू डीएसपीमा बढुवा भएको पनि पछि बताएका थिए।
विष्टका अनुसार एक दिन मातृकाले आफू बाहिर रहेको र बैंकमा किस्ता तिर्नुपर्ने छ भन्दै उनीसँग २५ हजार ९ सय ३० रूपैयाँ मागेका थिए। तत्काल रकम पठाएको तर, पछि फोन पनि उठाउन छाडेको विष्टको जाहेरीमा उल्लेख छ।
अनुसन्धानका क्रममा मातृकाले आफ्नो छालाको समस्याको उपचारका लागि क्लिनिकमा फोन गर्दा पछि प्रेमिका ती महिलाको मोबाइल नम्बर प्राप्त भएको बताएका छन्। उनले सुरूवातमा आफू डाक्टर रहेको बताएपनि पछि वास्तविकताबारे महिला र परिवारलाई जानकारी गराएको पनि दाबी गरेका छन्।
आफूले सञ्चालन गरेको चित्रकला एक्सपोर्ट इम्पोर्ट प्रालिको ऋण तिर्न पैसा लिएको उनको भनाइ छ। मातृकाले १७ महिनादेखि कार्यालयको भाडा नतिरेको भन्दै घरबेटीले समेत ठगीको उजुरी हालेका छन्।
यो पनि: