डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको खुलासा भएपछि ५ स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। उनीहरुले किर्ते हस्ताक्षर गरि आफ्नो नाम बाट त्रीपाल, टिन र जस्ता कुम्ल्याएको भन्दै कारबाहीको माग गरेका छन्।
जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको थियो।
स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन्।
भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर गरेका छन्। स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ। नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखिएको छ।
यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखिएको छ। वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको छ।
भरपाईमा नक्कली हस्ताक्षर गरिएका स्थानीयले सामग्री र नगद नपाएको गुनासो गरेका छन्।
सम्बन्धित समाचार
डडेल्धुराको अमरगढी-४ मा यस्तो बदमासी, नक्कली हस्ताक्षर हानेर रकम कुम्ल्याइयो