एजेन्सी: दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमा केही अग्नि नियन्त्रक पनि रहेका छन् । कैयौँ व्यक्ति अझै भवनभित्र फसेको आशङ्कामा खोजी भइरहेको छ । जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् ।
केही समय अघिसम्म सहरको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रमा रहेको भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ । आगलागीको कारण भने खुलेको छैन ।
घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौताविना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् ।