डडेल्धुरा : एसिया कप २०२३ को फाइनल खेल १७ सेप्टेम्बर अर्थात् आइतबार भारत र श्रीलंकाबीच हुनेछ। यो ‘हाई भोल्टेज’ खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ।
यो खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुने छ। तर, मौषमविद्का अनुसार फाइनल खेलमा कोलम्बोमा भारी वर्षाको सम्भावना छ।
एसिया कपमा भारत र श्रीलंकाले एक अर्काविरुद्ध कीर्तिमान नै कीर्तिमान बनाएका छन्। भारतले सात पटक उपाधि जितेको छ भने श्रीलंकाले छ पटक प्रतियोगिताको उपाधि जितेको छ। दुवै प्रतियोगिताका सर्वाधिक सफल टोली हुन्।
भारत र श्रीलंकाबीचको फाइनल खेलमा कोलम्बोको मौसम खासै राम्रो देखिँदैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यहाँ ८० प्रतिशत पानी पर्ने सम्भावना छ।
खेलको दिन दिउँसो १ बजेदेखि ७ बजेसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा फाइनल खेल वर्षाले प्रभावित हुन सक्छ। र, खराब मौसमका कारण खेल रद्द भएमा यो खेल भोलिपल्ट अर्थात् १८ सेप्टेम्बरमा रिजर्भ डेमा सम्पन्न हुनेछ।
रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनेछ। तर, फाइनल खेलको नतिजा पाउन रोहित शर्मा र दासुन शनाकाको टोलीले २०–२० ओभर खेल्नुपर्नेछ।
वास्तवमा, यसअघि भारत र श्रीलंकाबीचको आईसीसी च्याम्पियन्स ट्रफी २००२ को फाइनल कोलम्बोमा भएको थियो। प्रेमदासा रंगशालामा २९ र ३० सेप्टेम्बरमा भएको खेल वर्षाका कारण दुई पटक रद्द भएको थियो।
त्यसपछि कप्तान सौरभ गांगुली र सनथ जयसूर्याले ट्रफी बाँडे र दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिएको थियो।