काठमाडौं: नेपालको शान बढाउदै बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्र ढाँटले रुसका तोरेप्च्ची डोंगाकलाई हराएका छन्। मिक्स मार्सल आर्ट्समा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै उनले वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन्।
शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन्।
रविन्द्रले इतिहास रचेका छन्। उनी वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।
गत महिना नेपालमै सम्पन्न नेपाल वारियर्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका थिए। थाइल्याण्डमा ऐतिहासिक जित दर्ता गरेसँगै उनलाई अब वन च्याम्पियनसिपमा खेल्ने बाटो पनि खुल्नेछ।
आर्थिक अवस्था कमजोर भएपछि एसएलसी दिएर उनी रोजगारीका लागि भारत पुगेका थिए। भारतमै सामान्य जागिरको सिलसिलामा उनले कराते खेल सिक्दै मिक्स मार्सल आर्ट्समा प्रवेश गरेका थिए।