धनगढीः हिजो भारतको दिल्लीबाट कैलालीको धनगढी आइपुगेको बसभित्रसहित झण्डै ३७ लाख मुल्य बराबरका अवैध सामान प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले यात्रुबहाक बसभित्र ठुलो परिणाममा अवैध सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ हवल्दार लालबहादुर चन्दको कमाण्डमा समेत खटिएको मोटरसाइकल गस्तीसहितको संयुक्त टोलीले ती सामान नियन्त्रणमा लिएको थियो।
धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ५ ख २८१६ नम्बरको बसभित्र अवैध सामान फेला परेको थियो। बस धनी धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय पुरन मगराठीको बसलाई चेकजाँच गर्दा ती सामान फेला परेका हुन्।
बसभित्र गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय रमेश बिकले भारतबाट अवैध रुपमा भित्र्याएका मोबाइलका पार्टहरु र बससहित करिब ३६ लाख ८० हजार ८ सय मुल्य बराबरका बिना बिलका अवैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ।
बसभित्र अवैध रुपमा भित्र्याएका सुपर ग्लास १३० थान, स्मार्ट ग्लास ८८, सिट फोल्ट गर्ने हाइड्रोलिक १०, पुरानो कलोज पिलेट र वासर २, डिग्गीको सकेट ४, बुस वासर ६, सिट स्पिरिङ १, पेचकस १ र ना ५ ख २८१६ नम्बरको बससहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
त्यसपछि प्रहरीले गौरीगंगा नगरपालिका-८ बढैपुरमा रहेको नीज रमेश विकको पसलमा पनि छापा हानेको थियो। उक्त टीएमबी मोबाइल ग्यालरीमा खानतलासी गर्दा बिना बिलला १९५० थान मोबाइलका ग्लास र ८९० थान मोबाइलला कभर भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त मोबाइल ग्यालरीबाट ढाई लाख बराबरका अवैध सामान बरामद भएको छ। बरामद सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।