बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवाद सतहमा आएको छ। उनीहरुबीच प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद चर्किएको हो।
अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७७ सालदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेको तर उपाध्यक्ष भगिरथ बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरालाई नै यथावत राख्न चाहेको कुरो एक पत्रले बाहिर ल्याएको छ।
पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रंजय पटेल आउने खबर पाएपछि कार्यबाहक अध्यक्ष भएका बेला उपाध्यक्ष बोहराले गत भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र बाहिरिएको हो।
पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै सबै अधिकार दिएर खटाउन आग्रह गरिएको छ। कार्यबाहक अध्यक्ष बोहराले मन्त्रालयलाई लेखेको पत्रका भनिएको छ, ‘यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हुँदा यस गाउँपालिकामा जिल्लाभन्दा बाहिरको व्यक्तिबाट कामकाज गराउन सहज नहुने र भनेको समयमा सेवा सुचारु गराउन असहज हुने र बाहिर जिल्लाको प्रशासकीय अधिकृत बढीजसो काज बिदामा बस्ने भएकाले हालसम्म कामकाजको जिम्मेवारीमा रहँदै आएका नि.प्र.प्र.अ.बाट बाह्रै महिना नै जनताले सेवा सुचारु सहजै रुपले पाउने भएकाले तहाँ खटाई आउने प्रमुख प्रशासकीय नखटाई दिन हुन अनुरोध गरिन्छ।’
त्यसपछि डिलाशैनी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोजेको भन्ने सन्देश गएपछि अध्यक्ष जोशीले असोज ५ गते विज्ञप्ति नै जारी गरे।
उपाध्यक्ष बोहराले निमित्तबाट कामकाज गराउन चाहेको भए पनि मन्त्रालयले निमित्तबाट कामकाज गराउन नमिल्ने जवाफ डिलाशैनी गाउँपालिकालाई पठाइसकेको छ।
अध्यक्ष जोशीले नेकपा एमाले त्यागेर स्वतन्त्रबाट चुनाव लडेका थिए भने उपाध्यक्ष बोहरा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।