धनगढी : बाजुराका बिर्खराज पाण्डेले नेतागिरी गरेको पाइएको छ। जिल्लाको हिमाली गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकसमेत रहेका बिर्खराजले खुलेआम नेतागिरी गरेको पाइएको हो।
स्थानीयका अनुसार पाण्डेले अहिले गाउँमा गएर अरु पार्टीका कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रवेश गराइरहेका छन्।
केही दिनअघि मात्र उनले हिमाली गाउँपालिक-२ को कोट, कोटीगाउँ र रुम्दीमा एमाले परित्याग गरी कार्यकर्ताहरुले काँग्रेसमा प्रवेश गरेको भन्दै जानकारी गराएका थिए।
कर्मचारीको आचारसंहितामा भने कुनै पनि दल तथा पार्टीको प्रचारक बन्न नपाइने व्यवस्था छ। तर उनले आचारसंहिता, मर्यादा कुल्चिरहेका हुन्।
तर, यश विषयमा पालिकाले भने कुनै कारबाही गरेको छैन। पालिकाले उनको सो क्रियाकलापलाई नजरअन्दाज गरेको बताइएको छ। उता डोटीको एक पालिकामा भने अस्ति मात्र एक कृषिका कर्मचारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा गएकै कारण स्पष्टीकरण सोधिएको थियो।