काठमाडौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका छन्। चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन श्रेष्ठ चीनतर्फ गएका हुन्।
मंगलबार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले सम्बोधन गर्नेछन्।
उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ गएका हुन्। चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्नेछन्।
सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको सचिवालयले जनाएको छ।
सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन्।