काडमाडौं : नेपाल विद्युत प्राधिकरणले यो वर्षपनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ दिएको छ ।
प्राधिकरणको वित्तिय अवस्था, सम्पत्ति, व्यवसायिक क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणाीय तत्वलगायतको विश्लेषण गरेर इक्राले रेटिङ प्रदान गरेको बताइएको छ ।
‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तिय तथा आर्थिक दायित्व समयमै वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ । त्यस्तै, संस्थासँगको वित्तिय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।
विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले मुलुकभित्र तथा सीमापार पनि विद्युत व्यापार गर्दै आएको छ ।
सरकारले विद्युत विकासका आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी ९नगद वा ब्याज–साँवा पूँजीकरण० र अन्य आवश्यक रकममार्फत् प्राधिकरणलाई सहयोग गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले ‘डबल ए प्लस’ रेटिङ पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणसँग वित्तिय दायित्व वहन गर्न सक्ने उच्च तहको सुरक्षित क्षमता भएको बताए ।
प्राधिकरणले तेस्रो वित्तिय पुनः संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ ।
जसमा प्राधिकरणको चुक्ता पूँजी करिब तीन खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासनको प्रस्ताव गरिएको छ ।
सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङ्गले सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने जनाए ।
उनले भने, ‘संस्थाको वित्तिय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ । आन्तरिक माग धान्न हिँउदको विद्युत आयात प्रतिस्थापन छिट्टै हुँदै छ भने हरेक वर्ष हुने विद्युत निर्यात वृद्धि, आन्तरिक रुपमा हुने विद्युत खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेको सफलताले संस्थाको नाफा बढ्दै जाने छ ।’
विद्युत उत्पादनतर्फका आयोजनाहरु निर्माण र विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने उल्लेख गर्दै उनले सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने बताए ।
हाल प्राधिकरणले स्वदेशी तथा विदेशी जलविद्युत आयोजनाहरुसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरिरहेको छ ।