धनगढी : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी दिवस देशबासीको साझा उत्सव भएको बताएका छन्।
मंगलबार ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रहरी दिवस, नेपाल प्रहरीको मात्र नभई सम्पूर्ण देशबासीको साझा उत्सव र दिवस भएको बताएका हुन्।
उनले आजको दिन नेपाल प्रहरीले समाजमा पु¥याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आम नागरिकलाई समस्याको समयमा दिएको काँध र मातृभूमिको लागि तर्पण गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रपतिको स्वयंसेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठताप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसर समेत भएको बताए।
नेपाल प्रहरीको गौरवशाली इतिहासमा यस गरिमामय संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो।
‘यस अवसरमा गौरवमय इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारी बोध र कार्यसम्पादनका निम्ति समेत सिंगो संगठन परिवारमा हार्दिक अपील गर्दछु,’ उनले भने, ‘प्रहरी दिवसको यसै अवसरमा म वीर अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनका क्रममा घाइते हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दछु।’
उनले आम नागरिकले दुखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुनु आफैमा महत्वपूर्ण कुरा भएको बताए।
‘प्रहरी समाजको एउटा यस्तो अंग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पनि पर्दछ,’ उनले भने, ‘नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा एउटा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको छ।’
त्यसैमा थप्दै उनले भने, ‘सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याती प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजीसमेत हो।’
यो संगठनको क्षमता र दक्षतामा हुने अभिवृद्धिसँग सरकारको सफलता पनि समेटिने हुनाले यस संगठनको समय सापेक्ष आधुनिकीकरणका लागि सरकार अत्यन्त गम्भीर रहेको दाबी गरे। नेपाल सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका अधिृकतदेखि जवानसम्म सबैको साझा अभिभावक भएको र सबैलाई समान र न्यायपूर्ण व्यवहार गर्दछ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिएको उनको भनाइ छ।
‘संगठनमा सुदृढ एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न तथा संगठनभित्र सबैले आफ्नो जीवन देख्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ। तसर्थ, सरकारले लिएको यस नीतिको गम्भीरतालाई ग्रहण गरी सोहीअनुरूप सिंगो संगठनको वृत्ति विकास र परिचालन व्यवस्थित तुल्याउनसमेत यसै कार्यक्रममार्फत् महानिरीक्षकज्यूलाई निर्देशित गर्दछु,’ उनले भने।