काठमाडौँ : सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पले नै कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको भेटिएको छ ।
स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्पबाट कम परिमाणमा बिक्री गरेको भेटिएसँगै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएको टोलीले उक्त पम्प सिल गरेको हो ।
बुधवार गरिएको अनुगमन क्रममा सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हल चोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रधुम्न उपाध्यायले बताए । ‘उपाध्यायले भने, ‘६ पटक जाँच गर्दा पनि चार पटक परिणाम भन्दा थोरै देखिएपछि सिल गरियो ।’
मंगलबार मात्रै अनुगमनका क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गर्दै आएको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।