कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ। सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट एवं पूर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाईका नाममा रूख काटेको प्रकरणमा हिरासिंह विष्ट र केशवराज जोशीलाई पक्राउ गरिएको बताए।
यसअघि बेलौरी नपा ६ का वडायक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो। अर्का आरोपी मदन सिंह बोहरा भने फरार रहेको वनले जनाएको छ।
उक्त प्रकरणको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेवारी पाएका थिए। गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो ।
उनीहरु पाँचै जना विरुद्धमा बिना ईजाजत रुख विरुवा काटेको विषयमा मुद्दा दायर भएको छ।