काठमाडौं :चार दिने औपचारिक भ्रमणका लागि गएराति नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महत्वपूर्ण भेटघाटहरू आजै गर्ने भएका छन्।
गएराति १ बजे नेपाल आएका महासचिव गुटेरसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम छ।
उनले प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजेपछि र राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट्ने कार्यक्रम रहेको छ।
२ बजे प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन्।
प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ।