काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् ।
उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् ।
नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए ।
‘हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो । त्यसको रक्षाका लागि एमाले उभिन तयार छ ।’
जनताले लडेर ल्याएको राजनीतिक परिवर्तनका उपलब्धि रक्षा गर्नुपर्ने उनको भनाइ थियो । उनले नागरिकले नै सचेत भएर त्यसको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए । नेपालका विरुद्ध षड्यन्त्र भइरहेको पनि ओलीको भनाइ थियो ।
उनले जनतालाई विभिन्न बहानामा भड्काउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेका छन् । कसले त्यसो गरिरहेको भन्ने स्पष्ट नभने पनि ओलीले जनता सचेत हुनुपर्ने आग्रह गरे ।