काठमाडौं: आफूलाई देशकै ‘कान्छो’ अभियन्ता भनेर दाबी गर्ने केपी खनाल आजभोलि राजधानीमा छन्।
अछाममा जन्मिएर कैलालीको लम्कीचुहामा बस्दै आएका उनी हाल उपत्यकमै विभिन्न सरसफाईका कार्यक्रममा सहभागी हुने गरेका छन्।
मैनादेवी फाउण्डेशनका संस्थापक रहेका उनको हालैको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकको विवाह समारोहमा केपी खनाल देखिएको उक्त भिडियो अहिले यत्रतत्र छ।
उक्त भिडियोमा खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको ‘चाकडी’ गरेको देखिएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका हुन्। ‘सहारा टिभी’ नामको फेसबुक पेजमा पोष्ट भएको उक्त भिडियोमा खनाललाई ‘चाकडी’ गरेको ‘गुलामी’ गरेको तथा ‘झोले’ भएछ भन्दै कमेन्ट गरिएका छन्।
तिनै नकारात्क प्रतिक्रियाहरु सहन नसकेर उनले आज(बुधबार) बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोष्ट सेयर गरेका थिए। ‘मैले त्यो भिडियो हेरेर आफूले नै थाहा नभएको कुरा थाहा पाएर पेट मिचिमिचि हाँसीसके। अब अरुले नपठाउनु ल’ उनले लेखेका थिए।
तर त्यहाँ पनि नकारात्मक टिप्पणी आउन थालेपछि केपी खनालले उक्त पोष्ट नै ‘डिलिट’ गर्नुपरेको छ। त्यहाँ पनि उनलाई ‘झोला बोकेको हो त ?’, ‘चाकडी’ गरेको भन्दै प्रतिक्रिया आएका थिए। धेरैले उनलाई ‘प्रधानमन्त्रीको
नातिनीको विवाहमा पाहुनाको स्वागत गर्ने काम पाएको’ भन्दै व्यंग्य समेत गरेका छन्।
केपी खनाल आजभोलि काठमाडौं महानगरपालिकासँग मिलेर विभिन्न सरसफाईका अभियान चलाइरहेका छन्। सोही कारण उनी नगरप्रमुख बालेन्द्रसँग नजिकिएको अनुमान लगाउन सकिन्छ। तर, अगाडी लागेर बाटो देखाउँदै गरेको दृश्य देखेपछि धेरैले उनलाई ‘चाप्लुसी’ गरेको आरोप लगाइएका छन्।
केपी खनाल विभिन्न सहयोग तथा सरसफाईका नाममा अभियान सञ्चालन गरेर रकम संकलन गर्छन्। तर, उनले त्यसको हिसाबकिताब भने सार्वजनिक गर्दैनन्। सोही कारण एक सामान्य परिवारमा जन्मेर पनि उनको लवाई खुवाई आलिशान भएको भन्दै विभिन्न समयमा प्रश्नहरु तेर्सिने गर्छन्।