धनगढी : कैलाली र कञ्चनपुरमा नेपाल प्रहरीका सिबिल घुमुवाहरुले असुली धन्दा चलाइरहेको भन्दे नेपाल पत्रकार महासंघ कैलाली शाखामा पत्र आएको छ।
हुलाक कार्यालय कैलाली मार्फत नेपाल पत्रकार महासंघ कैलाली शाखामा धनबहादुर बोहराको नामबाट प्राप्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप लगाइएको हो।
आरआईटीका प्रहरी, जिल्ला र वडा प्रहरीको सिबिल धुमुवाहरु असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गर्न संलग्न हुन गरेकोलगायतका आरोप लगाइएको छ।
उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको पत्रमा उल्लेख छ। सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाइक प्रयोग गरेर असुली धन्दा गर्ने गरेको आरोप लगाइएको छ।
कुन प्रहरीलाई कस्तो आरोप ?
आरआइटीका हाकिमले कैलालीका विभिन्न तस्करहरुबाट रकम असुली गर्ने गराउने गरेको।
बिष्ट थरी सईले तस्करहरुसँग रकम असुली गर्ने गरेको तस्करहरुलाई मासिक रुपले पैसा दिनुपर्छ भनि पैसा मागेको।
उपाध्याय थरका सईले कनरीगाउँ चौधरीको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको र जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरेको र हाल तस्करहरुसँग रकम असुल गर्ने गरेको।
सहायक हवल्दार भरत सिंह ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा रही चोरीका बाईक तस्करी गर्दा विवादमा आएको र हाल आएर आरआईटीमा रातिको समयमा तस्करहरुसँग मिलेर तस्करी गर्ने गरेको।
बरिष्ठ हवल्दार लालबहादुर चन्दले आफन्तहरुलाई छोड्ने र अरुलाई पाँच किलो चिनी समातेर रोडमा फाल्ने गरेको र आफू आएर चौराहमा बस्ने र विभिन्न व्यक्तिलाई भगाउने गरेको र तस्करहरुलाई रातिको समयमा तस्कर गर्न लगाउने र पैसा असुली गर्ने।
वरिष्ठ सई रमेश खड्का आफ्नो एरियाबाट क्यारिङ गराउने गरेको र निजहरुबाट मासिक रुपले असुली गर्ने गरेको। दाजुभाई होटल, रारा होटल लगायतका होटल साहुबाट अनैतिक क्रियाकलाप गराएर पैसा असुल गर्ने गरेको।
सहायक हल्दार सुरेन्द्र साहु बजारका प्रत्येक साहुहरुसँग रक्सी र पैसा असुल गर्ने गरेको र चोरीका मोटरसाइकल चलाउने गरेको तथा देहव्यापार गराउने होटलबाट रकम उपर गर्ने गरेको।
ट्राफिक त्रिनगरका असई महता प्रत्येक ट्रेक्टरबाट एक हजार लिने गरेको र रिन्यू फेल भएका अटो रिक्साबाट जरिवाना नगराई पैसा असुल गर्ने गरेको।
पत्रमा ‘पदम थापाको टिम जस्तै यस्ता चोरहरुलाई पनि डाँडा कटाउनु पर्छ’ भनिएको छ। तर पदम थापा को हुन् भनेर केही उल्लेख छैन।
यस्तै पत्रमा प्रहरीले दशै तिहारमा पैसा, रक्सी, उठाएर खाएको र अहिले सबै नाकाबाट तस्करी गराएर पैसा उठाउने गरेको आरोप पनि लगाइएको छ। उनीहरुले तस्करहरुबाट ‘हामी मिलाउँछु’ भनेर ५ लाखदेखि ७ लाखसम्म पैसा उठाएको आरोप पनि छ।
यद्यपि यसमा प्रहरीको नाम लेखिएको छैन।
प्रहरीले टिकापुर नाका, जोशीपुर, भजनी, रामपुर, हसुलिया, फुलबारी, जुगेडा, शान्तिनगर, त्रिनगर, डोकेबजार, खड्डा, कडकड, त्रिभुवनवस्ती, आईबिआडी, फट्टा, टेडुवा, बेलौरी, पचुई, भुडा, बेलडाँडी र झिलमिला सबैठाउँबाट असुली गर्ने गरेको आरोप लगाइएको छ।
यी घटनाहरुमा संलग्न प्रहरीमाथि अनुसन्धान गरेर कारबाही गर्न मागसमेत गरिएको छ।