धनगढी : कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा मृत्यु भएका भनिएका युवकलाई ठक्कर दिएको आरोपमा प्रहरीले कार चालकलाई पक्राउ गरेको छ।
मंगलबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिर्सोट नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका २९ वर्षीय धोजबहादुर शाहीलाई ठक्कर दिएको भन्दै कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल अनियन्त्रित भएर सडकमा शाही खसेको अवस्थामा ठक्कर दिएको भन्दै जाहेरी परेपछि कार र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कार र चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय गणेशबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो।
प्रहरीकाअनुसार मृतक शाहीले चलाएको सुपप्र०१००१०प५०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेको अवस्थामा खड्काले चलाएको कारको अगाडीको दाहिने चक्काले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ।
ठक्करबाट घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मंगलबार राति नै मृत्यु भएको थियो।